फोरमको प्रथम सम्मेलन काठमाडौंमा २ डिसेम्बरमा हुँदै

लण्डन, ११ नोभेम्बर २०१५:  विश्वका विभिन्न मुलुकमा बसोबास गरी प्राज्ञिक तथा प्राविधि क्षेत्रमा कार्यरत नेपालीहरूको सक्रीयतामा ७ अक्टोबर २०१५ (२० असोज २०७२) मा ग्लोबल पोलिसी फोरम फर नेपाल गठन गरिएको थियो। नेपालको दीगो विकासका लागि टेवा पुर्‌याउन चाहने इच्छुक व्यक्तिहरूलाई समेटेर यस फोरमलाई अगाडि बढाउने योजनाअनुसार संगठनको प्रथम सम्मेलन बुधबार २ डिसेम्बर २०१५ (१६ मंसीर २०७२) का दिन काठमाडौंको होटल अन्नपूर्णमा गरिने जानकारी गराउन चाहन्छौं। प्रथम सम्मेलनमा “नेपालमाथि भारतको अघोषित आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय कानूनमा नेपालका विकल्पहरू” र “नेपालको उच्च शिक्षा क्षेत्रमा राजनीतिकरणले परेको शिक्षाको गुणात्मक असर” विषयमा नेपालका बौद्धिक तथा राजनीतिकर्मीहरूसँग विशेष छलफल गरिने छ।

नेपाललाई एक स्वाबलम्बी मुलुकको रुपमा विकसित गर्नका लागि आवश्यक पर्ने ज्ञान र प्रविधि जुटाउने तथा विभिन्न राष्ट्रिय महत्वका विषयहरूमा दीगो नीति निर्माणमा सहयोग पुर्‌याउनु यस फोरमको उद्देश्य रहेको छ। नेपालको समग्र विकासका लागि न्यायपूर्ण, निष्पक्ष र प्रगतिशिल नीति निर्माण तथा नेपालको सार्वभौमिकताको रक्षा तथा कानूनी राज्यको स्थापनाका लागि सहयोग गर्न यो फोरम प्रतिबद्ध छ।

यो फोरमको भविष्यमा हरेक दुई वर्षमा एक पटक विश्व सम्मेलन गर्ने योजना रहेको छ। गरिबीको चपेटामा पिल्सिइरहेको नेपाललाई स्वाबलम्बी मुलुक बनाउनका लागि सेवा गर्ने उद्देश्य लिएका संगठनहरू स्वयं स्वाबलम्बी हुनु आवश्यक छ। त्यसैले संस्था सञ्चालन तथा नेपालमा गरिने सम्मेलनहरू नेपाली जनतामाथि कुनै आर्थिकभार नथपी संगठनका सदस्य तथा सहृदयीहरूको आर्थिक सहयोगमा सम्पन्न गर्न यो फोरम प्रतिबद्ध छ।

प्रा. डा. सूर्यप्रसाद सुबेदी (बेलायत) को अध्यक्षतामा गठित पाँच सदस्यीय कार्यसमितिलाई विस्तार गरी हाल नौ सदस्यीय बनाइएको छ। शुरूको पाँच सदस्यीय समितिमा प्राध्यापकहरू उपेन्द्रदेव आचार्य (संयुक्त राज्य अमेरिका), कुमुद धिताल (अष्ट्रेलिया), शिव गौतम (संयुक्त राज्य अमेरिका) र कटक मल्ल (स्वीडेन) रहनुभएको थियो भने होममुर्ति पन्त (अष्ट्रेलिया), मल्लिका शाक्य (भारत), पदम सिंखडा (बेलायत) र विशाल सिटौला (नर्वे) हालै सो समितिमा थपिनुभएको छ।